काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यसले गर्दा देशका पहाडी भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारण बदलीको अवस्था छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र कोशी, गण्डकी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना भएका स्थानहरूमा महाशाखाले बाढी, पहिरो, र भूक्षय जस्ता प्राकृतिक प्रकोपबाट बच्न सावधानी अपनाउन सुझाव दिएको छ।