काठमाण्डौ, देशभर मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतिर रहेको छ, जसका कारण देशभर मनसुनको प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीका साथै मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, मधेस, र बागमती प्रदेशका केही भागमा भारी वर्षा हुने सम्भावना छ। महाशाखाले भारी वर्षाको सम्भावित क्षेत्रहरूमा पहिरो, बाढी, र भू-क्षयको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
भोलि मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, बागमती, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ।
