काठमाडौं, नेपालमा पहिलो पटक मंकीपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा मंकीपक्सको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
साउदी अरबबाट बिहीबार फर्किएका एक युवकमा गरिएको परीक्षणबाट शुक्रबार मंकीपक्स पोजेटिभ पुष्टि भएको थियो।
मन्त्रालयले मंकीपक्स संक्रमण भएका वा शंका गरिएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान सचेत गराएको छ। यसका साथै, मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था पुगेर चिकित्सकको सल्लाह लिन र हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
मन्त्रालयले प्रत्येक प्रदेशमा मंकीपक्सको निदान तथा उपचारका लागि विशेष अस्पतालहरू तोकेको जानकारी दिएको छ। आवश्यक परामर्श तथा परीक्षणका लागि ती अस्पतालहरूसँग सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
पंकीपक्सबाट बच्ने के गर्ने ?
– संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने
– संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्य मापदण्डहरू पालना गर्ने
– घाउसँग प्रत्यक्ष सम्पर्क हुने जोखिम भए पन्जा लगाउने,
नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने
– संक्रमित व्यक्तिका लुगा तथा सामानहरू तातो पानी साबुन र डिटर्जेन्टले धुने
– मंकीपक्सको पुष्टि भइ मरेका जनावरको सम्पर्कमा नजाने, – संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने
– संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
– फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्ने