काठमाडौँ, मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका समस्याहरू समाधान गर्न स्वतन्त्र पहल, कार्यगत एकता, र संयुक्त मोर्चामार्फत संघर्षलाई अघि बढाउने निष्कर्ष निकालेको छ।

पार्टीले हालै सम्पन्न राष्ट्रिय एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय सार्वजनिक गरेको हो। मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरेको जानकारी दिइएको छ।
महाधिवेशनले संगठनात्मक रूपमा महासचिवीय प्रणालीमा जाने र ‘एकमा तीन’ को सिद्धान्त अनुसार ११७ सदस्यीय पूर्ण केन्द्रीय समिति र ९५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। साथै, केन्द्रीय परिषद् गठन गर्ने निर्णय पनि महाधिवेशनले गरेको नेता सीपी गजुरेलले जानकारी दिए।
गजुरेलका अनुसार महाधिवेशनमा प्रस्तुत केन्द्रीय समिति र वैकल्पिक सदस्यहरूको प्रस्ताव प्रतिनिधि तथा पर्यवेक्षकहरू सम्मिलित सदनबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो। त्यसपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले मोहन वैद्य ‘किरण’लाई सर्वसम्मत रूपमा महासचिव चयन गरेको छ।