काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच चीनको राजधानी बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी सहयोग र साझेदारीका क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्ने विषयमा छलफल भएको बताइएको छ।
यसअघि मंगलबार नै प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच पनि भेटवार्ता भएको थियो। उक्त भेटपछि नेपाल र चीनबीच आर्थिक, पूर्वाधार, र व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेको थियो। भ्रमणको क्रममा विभिन्न उच्चस्तरीय भेटघाट र सहमति भएपछि दुवै देशबीच आपसी सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ।
