काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ उपप्रधानमन्त्री दिङ छुयस्याङबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।

चीन भ्रमणमा रहेका नेता खनालले उपप्रधानमन्त्री छुयस्याङसँग खुला समाजवादी आधुनिकीकरण, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), र नेपाल–चीनबीचको ट्रान्स हिमालयन रेल्वे निर्माणसहितको कनेक्टिभिटी परियोजनाका विषयमा छलफल गरेका छन्।
नेता खनालको सचिवालयका अनुसार, छलफलका क्रममा चिनियाँ उपप्रधानमन्त्रीले चीनले समाजवादी सुधारको प्रक्रिया सुरु गरेदेखि पछिल्लो ४६ वर्षमा कसरी समृद्धितर्फ अगाडि बढ्यो भन्नेबारे जानकारी गराए। उनले साना र मझौला मुलुकहरूको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको समर्थनमा चीन सधैं दृढ रहेको बताउँदै, सुधार र आधुनिकीकरणले चीनलाई विश्वमा आर्थिक र सामाजिक विकासमा नेतृत्वदायी भूमिका खेल्न सक्षम बनाएको उल्लेख गरे।
उक्त छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायतका देशका पूर्वप्रधानमन्त्रीहरू, इथियोपियाका पूर्वराष्ट्रपति, र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए।
भ्रमणका क्रममा नेता खनालले नेपाल–चीन सम्बन्धको थप मजबूतीका लागि आर्थिक र भौतिक पूर्वाधारका परियोजनामा सहकार्यको आवश्यकता औंल्याएका थिए।
