काठमाडौँ, श्रमिकहरूको अनिवार्य अवकाशको उमेर अब ६० वर्ष पुगेपछि हुने भएको छ। सरकारले हालै जारी गरेको अध्यादेशमार्फत श्रमिकको अवकाशको उमेर ५८ बाट ६० वर्ष पुर्याएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस व्यवस्थाको प्रस्ताव गरेको थियो। पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ऐन संशोधन नगरी अध्यादेशमार्फत यो निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको यो अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अनिवार्य अवकाशको उमेर ५८ बाट ६० वर्ष पुर्याइएको जानकारी दिए। ‘श्रम ऐन, २०७४’ को दफा १४७ अनुसार ५८ वर्षमा अनिवार्य अवकाशको व्यवस्था थियो। तर, अब यो उमेर सीमा ६० वर्ष पुर्याइएको छ।
पहिले श्रमिकको अनिवार्य अवकाशको उमेर नेपालीहरूको औसत आयु ५९ वर्ष रहेकाले ५८ वर्ष तोकिएको थियो। तर, अहिले औसत आयु ७१ वर्ष नाघेको छ। यसलाई ध्यानमा राख्दै अवकाश उमेर दुई वर्ष बढाइएको घिमिरेले बताए।
साथै, निजामती, शिक्षक लगायतका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर पनि ६० वर्ष पुर्याउने बहस चलिरहेको छ। तर, यो विषयमा विवाद देखिएको छ।
यो परिवर्तनले सामाजिक सुरक्षा कोषसँग सम्बन्धित पेन्सन योजनामा पनि प्रभाव पार्नेछ। श्रमिकले ५८ वर्षमा अवकाश पाए पनि पेन्सन योजना ६० वर्षपछि मात्र लागू हुने हुँदा २ वर्ष कुर्नुपर्ने समस्या देखिएको छ।
विश्वका अन्य देशहरूले पनि अनिवार्य अवकाशको उमेर बढाउँदै आएका छन्। चीनले हालै श्रमिकको अवकाश उमेर क्रमशः ६० बाट ६३ र महिलाहरूको उमेर ५० बाट ५५ वर्ष पुर्याउने निर्णय गरेको छ।