काठमाडौं, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक पुनरागमन जित निकालेको छ। गएराति भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडले म्यान्चेस्टर सिटीलाई २-१ ले हराउँदै महत्वपूर्ण जित दर्ता गरेको हो।
खेलभर लिएको अग्रतालाई जोगाउन नसक्दा सिटी आफ्नै घरेलु मैदानमा स्तब्ध भयो। युनाइटेडका लागि ब्रुनो फर्नान्डेस र अमाड दियालोले १-१ गोल गरेका थिए, भने सिटीका लागि जोस्को भार्डिओलले एक गोल गरे।
खेलको ३६औं मिनेटमा जोस्को भार्डिओलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ सिटीको पक्षमा १-० मा समाप्त भएको थियो।
दोस्रो हाफमा दुवै टोलीले प्रयास गरे पनि गोल निस्किरहेको थिएन। तर, ८८औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो। ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि, ९०औं मिनेटमा अमाड दियालोले निर्णायक गोल गर्दै युनाइटेडलाई जित दिलाए।
यो जितसँगै युनाइटेडको १६ खेलमा २२ अंक भएको छ र तालिकामा १३औं स्थानमा उक्लिएको छ। १६ खेलमा २७ अंक रहेको म्यान्चेस्टर सिटी भने पाँचौं स्थानमा झरेको छ।