काठमाडौं, पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ। मंगलबार आयोजित कार्यक्रममा आयोजक केडिया ग्रुपले लिगको नाम, लोगो र स्लोगान सार्वजनिक गरेको हो।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले लोगो अनावरण गरे। त्यस्तै, मन्त्री चाैधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रूपमा लिगको स्लोगान ‘उचाईको नयाँ उडान’ सार्वजनिक गरे।
केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप उचाईमा पुर्याउने लक्ष्यले यो स्लोगान राखिएको बताए।
६ टोलीको सहभागिता र ९ दिनको लिग
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानका अनुसार, पहिलो संस्करणमा ६ टोलीको सहभागिता हुनेछ। लिग सिंगल राउण्ड रोबिन प्रणालीमा खेलाइने छ। कुल १५ खेल हुने यो लिग ९ दिनसम्म चल्नेछ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।
प्रत्येक टोलीमा १२ खेलाडी रहनेछन्, जसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुने जानकारी खेतानले दिए।
७ वर्षका लागि सम्झौता
पुरुष भलिबल फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र केडिया ग्रुपबीच गत जेठमा ७ वर्षका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार, केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ।
नेपालको भलिबल इतिहासमा यो पहिलो पुरुष फ्रेन्चाइज लिग हो। यसअघि, महिला भलिबलको फ्रेन्चाइज लिग ‘एभरेष्ट वुमन्स भलिबल लिग’ गत असोजमा इन्फिनिटी ड्रिम्सले आयोजना गरेको थियो।