काठमाडौँ, लिभरपुलले आइतबार राति म्यानचेस्टर युनाइटेडमाथि सहज ३-० को जित निकाल्दै इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुलका लुइस डियाजले २ र मोहम्मद सलाहले १ गोल गर्दै टीमलाई जित दिलाए।

खेलको ३५ औँ मिनेटमा डियाजको गोलले लिभरपुललाई सुरुआतको अग्रता दिलायो। ४२ औँ मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। डियाजको दुबै गोलमा सलाहले सहायकको भूमिका खेले।
५६ औँ मिनेटमा सलाहले गरेको गोलले लिभरपुलको जितलाई सुनिश्चित गर्यो। लगातार तेस्रो जितसँगै लिभरपुल अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ, जबकि शीर्ष स्थानमा समान खेल र अंकमा म्यानचेस्टर सिटी छ।