Untitled design 55 1Kava Women's Nations: Nepal and India compete for the title today

काठमाडौं, घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज (बुधबार) नेपाल र भारत भिड्दैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

Untitled design 55 1

लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको नेपाली टोली उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ। भारतविरुद्धको त्यो जित महिला भलिबल इतिहासको पहिलो जित हो। नेपाल आजको खेलमा सोही नतिजालाई दोहोर्याउने प्रयासमा हुनेछ।

लिग चरणमा इरानसँग ३-२ ले पराजित भएको नेपालले मंगलबार भएको दोस्रो सेमिफाइनलमा सोझो सेटको जित निकाल्दै भारतसँगको भेट पक्का गरेको हो। भारतसँगको भेट नेपाली टोलीका लागि पाँच वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने अवसर समेत हो।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलको फाइनलमा नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो। त्यसको पाँच वर्षपछि अर्थात आज नेपाली टोलीमाथि त्यो हारको बदला लिने उत्कृष्ट अवसर आएको छ।

भारतले यसपटक इरानलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। नेपालसँग पहिलो पटक हार भोगेको भारत फाइनलमा नेपाललाई सहजै नतिजा सुम्पने पक्षमा छैन। भारत लिग चरणमा भोगेको हारको बदला लिदै लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ।

आजै हुने तेस्रो स्थानको खेलमा इरान र श्रीलंका भिड्दैछन्। इरान नेपालसँग र श्रीलंका भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। तेस्रो स्थानको खेल दिउँसो २ बजे सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *