काठमाडौँ, मध्यपहाडी लोकमार्गमा आज साँझ एक हाइलेक्स गाडी सुनकोशी नदीमा खसेको घटनामा तीनजना बेपत्ता भएका छन्। खोटाङबाट भक्तपुरतर्फ आउँदै गरेको गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काका अनुसार उक्त गाडीमा चार जना सवार थिए। तीमध्ये एकजना हामफालेर बाहिर निस्कन सफल भएका छन् र हाल खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेका छन्। अन्य तीनजना बेपत्ता भएका छन्।
सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको टोली खोजीमा खटिएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडीका चालक ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु, र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन्।
घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खोजीकार्यमा संलग्न छ।