काठमाडौं, जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ। खेलको दोस्रो दिन, दोस्रो सेसनमै आर्मीले जित हासिल गरेको हो। यसअघि, आर्मीले दुई खेल बराबरी खेलेको थियो।

वीरगञ्जमा भएको यस खेलमा मधेशले दिएको २८ रनको लक्ष्य आर्मीले ६ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो। मधेशको पहिलो इनिङ कमजोर रहेको थियो, जसका कारण फलोअनमा खेल्दै दोस्रो इनिङमा १५० रनमा समेटियो। मधेशले आर्मीलाई २८ रनको सामान्य लक्ष्य दिएको थियो।
मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाए भने कप्तान हरिशंकर साहले १४२ बल खेल्दै २५ रन बनाएका थिए। आर्मीका बसिर अहमदले ४ विकेट लिँदा साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए।
पहिलो इनिङमा आर्मीले २२५-९ को स्थितिमा इनिङ घोषणा गरेको थियो। जवाफमा मधेश १०२ रनमा अलआउट भएपछि फलो-अनमा परेको थियो। यस जितसँगै त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ।