काठमाडौं, भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका आफ्ना नागरिकहरूको स्वास्थ्य अवस्थाबारे बुझ्न उनी आज बिहान काठमाडौं आइपुगेकी हुन्।
खड्सेले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
उक्त दुर्घटनामा पोखराबाट काठमाडौं जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस करिब ३०० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइते भएका १६ जनाको उपचार शिक्षण अस्पतालमा भइरहेको छ।
घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा शुक्रबार नै काठमाडौं ल्याइएको थियो। प्रहरीका अनुसार बसमा ४३ जना यात्रारत थिए।
यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको छ। शव परीक्षणपछि मृतकहरूको शव भारत पठाइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्।