काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण तयारीसँगै नेपालमा भारतीय अधिकारीहरूको चहलपहल तीव्र भएको छ।

पछिल्लो समय भारतीय राजदूतावास र अन्य एजेन्सीहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विभिन्न राजनीतिक दलका नेताहरूसँग उच्चस्तरीय भेटघाटलाई तीव्रता दिएका छन्। मंगलबार बिहान उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। यसअघि, सोमबार प्रधानमन्त्री ओली र देउवाबीच पनि भेटघाट भएको थियो।
भारतीय जनता पार्टीका नेता विजय जोली पनि सोमबार काठमाडौँ आइपुगेका छन्। उनी विभिन्न दलका नेताहरूसँग भेटघाटमा व्यस्त रहेको स्रोतले बताएको छ। भाजपाका पूर्व विदेश विभाग प्रमुख जोलीलाई नेपाल मामिलामा जानकार मानिन्छ।
यसैबीच, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले हालै नेपाल भ्रमण सम्पन्न गरेका छन्। सीमा सुरक्षा बैठकका लागि नेपाल आएका उनले विभिन्न पक्षसँग परामर्श गरेका थिए।
बुधबार भारतीय सेनाका उपप्रमुख उपेन्द्र द्विवेदी नेपाल आउँदैछन्। उनी नेपाली सेना प्रमुख अशोक राज सिग्देलको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने तयारीमा छन्। भारतले औपचारिक निमन्त्रणा नदिएपछि उनले चीनको निमन्त्रणालाई स्वीकार गरेका हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री ओलीमाथि “भारतविरुद्ध चीन कार्ड खेल्ने” आरोप लगाए पनि एमालेले त्यसको खण्डन गरेको छ।
ओलीको चीन भ्रमणको मुख्य एजेन्डामा बीआरआई परियोजना, सीमा नाका विस्तार, र यातायात पूर्वाधार निर्माण समेटिएका छन्। तर, कांग्रेसले अनुदानमा मात्र बीआरआई परियोजना स्वीकार गर्ने अडान लिएको छ।
चीन भ्रमणपूर्वका यी गतिविधिहरूबीच नेपालमा भारतीय अधिकारीहरूको सक्रियता थप चासोको विषय बनेको छ।
