काठमाडौँ, चालु आर्थिक वर्षको मंसिर महिनासम्म मुद्रास्फीति दर (समग्र मूल्यवृद्धि) उल्लेखनीय रूपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। पहिलो पाँच महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर ६.०५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९५ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ। यस अवधिमा तरकारी उप–समूहको मुद्रास्फीति ४३.०५ प्रतिशतले बढेको छ भने दाल तथा गेडागुडी १०.६६ प्रतिशत, खाद्यजन्य पदार्थ ९.७० प्रतिशत, र घ्यू तथा तेल ९.३९ प्रतिशतले बढेका छन्।
मसला उप–समूहको मूल्य सूचकाङ्क १.१८ प्रतिशतले घटेको छ भने चिनी तथा चिनीजन्य पदार्थ ०.८३ प्रतिशतले घटेका छन्। गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा उप–समूहको मुद्रास्फीति ७.९८ प्रतिशतले बढेको छ।
ग्रामीण क्षेत्रमा मुद्रास्फीति ६.५२ प्रतिशतले बढेको छ भने शहरी क्षेत्रमा ५.८९ प्रतिशतको वृद्धि भएको छ। प्रदेशगत रूपमा, कोशी प्रदेशको मुद्रास्फीति सबैभन्दा उच्च ७.३६ प्रतिशत रहेको छ। मधेश प्रदेशमा ६.७७ प्रतिशत, बागमती प्रदेशमा ५.८४ प्रतिशत, गण्डकी प्रदेशमा ४.८१ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.५३ प्रतिशत, कर्णाली प्रदेशमा ४.१९ प्रतिशत, र सुदूरपश्चिम प्रदेशमा ६.६६ प्रतिशत मुद्रास्फीति दर देखिएको छ।
काठमाडौं उपत्यकामा वार्षिक मुद्रास्फीति ५.८२ प्रतिशत, तराईमा ६.३१ प्रतिशत, पहाडमा ५.६५ प्रतिशत, र हिमालमा ६.५८ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।