काठमाडौं, मलेसियामा जारी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले टस जितेर यो निर्णय लिएको हो।

विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदै नेपालले गत शनिबार भएको आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।
यसअघि, विश्वकपमा छनोट भएपछि नेपालले एसीसी यू-१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो।
नेपाल समूह ‘डी’मा रहेको छ, जहाँ उसको साथमा बंगलादेश, अस्ट्रेलिया, र स्कटल्याण्ड छन्। सुपर ६ मा स्थान बनाउन नेपालले कम्तिमा एक खेल जित्नुपर्नेछ।
सुपर ६ मा प्रत्येक समूहबाट तीन-तीन टोली पुग्नेछन्। त्यसपछि, दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले आगामी माघ ९ गते अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।