काठमाडौं, फ्लोरिडासहितका विभिन्न क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले व्यापक आतंक फैलाएको छ। फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दै गर्दा यो तुफान अझै शक्तिशाली बनिरहेको छ। अमेरिकी मौसम विज्ञान अधिकारीहरूले यसलाई पाँचौं श्रेणीको शक्तिशाली तुफानको रूपमा वर्गीकृत गरेका छन्। स्थानीय बासिन्दाहरूले यसप्रकारको शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन्।

विशेषज्ञहरूको अनुमान छ कि यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्छ। यसैले, ह्वाइट हाउसले फ्लोरिडामा आपतकालको घोषणा गर्न अनुमति दिएको छ। मौसमको प्रतिकूल अवस्थाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरू रद्द गरिएको छ, जसमा बुधबारका लागि निर्धारित १,५०० उडानहरू रद्द भएका छन्।
राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन्। उनले भनेका छन्, “यो जीवन र मृत्युको सवाल हो। यो फ्लोरिडामा एक शताब्दीकै सबैभन्दा भयंकर तुफान हुनसक्छ। ईश्वरसँग प्रार्थना गर्दछु कि त्यस्तो चाहिँ नहोस् तर अहिलेसम्म त त्यस्तै लागिरहेको छ।”
नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन तुफानको केन्द्र टाम्पा खाडीबाट १,३१० किलोमिटर पश्चिम-दक्षिणपश्चिममा छ र यसले १३० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ। यो तुफान बुधबार बेलुका टाम्पा खाडी क्षेत्रको जमिनमा बज्रिने र मध्य फ्लोरिडा हुँदै एटलान्टिक महासागरतर्फ अघि बढ्ने अनुमान गरिएको छ।
फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। यो तुफानले फ्लोरिडाको बाक्लो बस्ती भएको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउनसक्ने र १० लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दाले झ्याल बाहिरबाट काठका फल्याक ठोक्न थालेका छन्।
तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान गरिएको छ, साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ। यस वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ।
अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका तुफानविज्ञ फिल क्लोटजब्याकका अनुसार, सेप्टेम्बर महिनापछि एटलान्टिक महासागरमा तीनपटक तुफान आइसकेको छ। अगष्ट र सेप्टेम्बरमा गरी चार पटक तुफान आएको छ। केही दिन अघि हेलेन तुफानले अमेरिकामा विध्वंस मचाएको थियो, जसमा १३० जनाको मृत्यु भएको थियो।
