रुस, रुसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा शनिबार एक हेलिकप्टर बेपत्ता भएको छ। क्षेत्रीय अधिकारीहरूले जनाएका अनुसार, हेलिकप्टरमा १९ जना यात्रु र ३ चालक दलका सदस्य गरी कुल २२ जनासँग सम्पर्क विच्छेद भएको हो।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडिओमा उल्लेख गरेअनुसार, “ग्रिनविच समयअनुसार शनिबार बिहान करिब ४:१५ बजे एमआई–८ हेलिकप्टरसँगको सम्पर्क विच्छेद भएको छ।”
रुसी अधिकारीहरूका अनुसार, अन्य हेलिकप्टरमा पठाइएका उद्धार टोलीले हराइरहेको हेलिकप्टरको खोजी गरिरहेका छन्।
एमआई–८ सोभियतकालिन डिजाइनको एक सैन्य हेलिकप्टर हो जुन रुसमा यातायातका लागि व्यापक रूपमा प्रयोग गरिन्छ। हराएको हेलिकप्टरले कामचट्काको जङ्गली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि प्रसिद्ध वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्र नजिकैबाट यात्रुहरूलाई उठाएको थियो।
आपत्कालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई जानकारी दिँदै भने, हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या आएको संकेत थिएन।
स्थानीय मौसमसम्बन्धी सेवाले विमानस्थलको क्षेत्रमा दृश्यता कम रहेको जानकारी दिएको छ। रुसको सुदूरपूर्वी क्षेत्रमा उडानका लागि प्रतिकुल मौसम र दुर्गम भौगोलिक अवस्थाका कारण यस्ता घटनाहरू प्रायः हुने गर्छन्।
सन् २०२१ को अगस्टमा पनि, एक एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएकाले कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो। सोही वर्षको जुलाईमा, प्रायद्वीपमा अवतरण गर्न लागेको अर्को विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ यात्रु र ६ चालक दलका सदस्य थिए।
रासस/एएफपी