काठमाडौं, क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा सुधार देखिएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई हाल आईसीयूमा राखिएको छ।
परिवारिक स्रोतका अनुसार, अहिले उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदैछ, र छिट्टै वार्डमा सार्ने विषयमा छलफल भइरहेको छ। स्रोतले भन्यो, ‘बोली र खानपिन ठिक छ। डाक्टरहरूले एक-दुई दिनभित्रै वार्डमा सार्न सकिने बताएका छन्।’
हाल अक्सिजनको स्तर बेला-बेला तलमाथि हुने भएकाले उनलाई आईसीयूमा राखिएको छ। स्रोतले थप जानकारी दिँदै भन्यो, ‘कहिले स्वास्थ्य बिग्रिएको जस्तो देखिन्थ्यो भने कहिले सुधार भएको जस्तो देखिन्थ्यो। अहिले भने सुधार भइरहेको छ।’
७८ वर्षीय वैद्य, श्वासप्रश्वासमा समस्या देखिएपछि पुसको दोस्रो सातादेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन्।