काठमाडौं, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन वैद्यसँगको एकता स्थापनामा विचारधारात्मक भिन्नताका कारण असफलता आएको बताएका छन्। बुधबारको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले विचारधारामा पुनर्गठन गर्दै वर्ग संघर्षलाई अगाडि बढाउने धारणा व्यक्त गरे।

बास्तोलाले विचार मिल्ने पार्टीहरूसँग एकता र सहकार्यलाई जारी राख्ने आवश्यकताबारे बताए। उनले भने, “वर्ग संघर्षलाई नयाँ उचाइमा पुर्याउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबीच एकता भएको हो, तर उहाँ जडसूत्रवादी सोचमा अडिएको हुनुहुन्छ। युवाले कम्प्युटरको माग गरेका छन् भने, वैद्य कमरेडको तरिकाले हँसिया दिई घाँस काट्न पठाउन सफल एकता सम्भव भएको छैन।”
महासचिव बास्तोलाले कांग्रेस र एमालेलाई पछाडि फर्किएका पार्टीहरूको रूपमा वर्णन गर्दै संविधान संशोधनको नाममा २०४७ सालभन्दा पछाडि जान खोजिरहेको दाबी गरे। “नेपाली कांग्रेस र नेकपा एमाले पछाडि फर्किएका राजनीतिक पार्टीहरू हुन्। गणतन्त्र ल्याउन यी पार्टीका मुख्य नेताको कुनै भूमिका छैन। अहिलेको परिवर्तन उनीहरुलाई मन परेको छैन र संविधान संशोधनको बहानामा २०४७ भन्दा पछाडि फर्किन चाहन्छन्,” उनले भने।
कांग्रेस र एमाले भ्रष्टाचारका काण्डहरूमा संलग्न रहेको आरोप लगाउँदै बास्तोलाले तिनीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने पार्टीहरू भने। उनले थपे, “राष्ट्रिय सम्पत्ति बेचेर खानेदेखि भ्रष्टाचारका ठूल्ठूला काण्डहरू उहाँहरूको पालामा भएका छन्। जसले देशलाई आजको अवस्थामा पुर्याएको छ।”
बास्तोलाले नेपालमा बंगलादेशजस्तो अवस्था आउन सक्ने आशंका व्यक्त गर्दै, “नेपाली शासक पनि शेख हसिनाकै बाटोमा हुनुहुन्छ। जनता आजित भइसकेको छ र यदि नेपाली शासकले दमनको बाटो रोजे भने बंगलादेशको जस्तो अवस्था आउनसक्छ,” भने।
पत्रकारको प्रश्नको जवाफमा उनले भ्रष्टाचारविरुद्ध संघर्षलाई अगाडि बढाउने र पार्टीका महासचिव विप्लव पतनको बाटो हिँडेकाले आफूहरू अलग भएको बताए।

पार्टीको साउन ११ देखि १५ गतेसम्मको केन्द्रीय समिति बैठकले आगामी पुस ११ गते माओ दिवसको अवसरमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठकले भ्रष्टाचार, बैंक, लघुवित्त र सहकारी तथा मिटरब्याजविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको छ। साथै, अहिलेसम्मका राष्ट्र प्रमुख, प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, नियोग प्रमुख, सुरक्षा निकाय प्रमुख, मुख्यसचिव लगायतका सम्पत्तिको छानबिन गर्न दबाब सिर्जना गर्ने निर्णय गरेको छ।