भारतको केरला राज्यअन्तर्गत पथनमथिट्टामा १८ वर्षीया दलित छात्रामाथि भएको सामूहिक बलात्कार घटनाका ६४ आरोपितमध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा छात्राका छिमेकी, बुबाका साथी, खेलकुद प्रशिक्षक र अन्य व्यक्ति सामेल छन्। तीमध्ये दुईजना १७ वर्षका नाबालिग हुन् भने अन्य १९ देखि ४७ वर्षका छन्।

घटनामा हालसम्म आठवटा एफआईआर दर्ता भइसकेका छन्, जुन दुई प्रहरी चौकीमा दर्ता भएका हुन्। पथनमथिट्टा जिल्लाका डेपुटी एसपी नन्दकुमार एसले बीबीसी हिन्दीलाई जानकारी दिँदै भने, ‘एससी-एसटी ऐन र पोक्सोअन्तर्गत पनि मुद्दा दर्ता गरिएको छ, किनभने यी अपराध पाँच वर्षमा भएका छन्। पीडित त्यतिबेला नाबालिग थिइन्।’
उनी अनुसार, ‘यसबीचमा सामूहिक बलात्कारका तीनवटा घटना भएका छन्।’ यस मुद्दामा पीडितका छिमेकी र बाल्यकालको साथीलाई पहिलो अभियुक्त बनाइएको छ। ती घटनाहरू पीडित १३ वर्षकी हुँदा सुरु भएका थिए।
पथनमथिट्टा जिल्ला अपराध शाखाको मिडिया सेलका सजीव एमले भने, ‘पहिलो अभियुक्तको फोनमा यौन दुर्व्यवहारका प्रमाण भेटिएका छन्, जसबाट उसले विद्यार्थीलाई ब्ल्याकमेल गरेर आफ्ना साथीहरूकहाँ लैजाने गरेको पुष्टि हुन्छ।’
यो कुरा कुटुम्बश्री ‘स्नेहिता’ कार्यक्रमअन्तर्गत सामुदायिक काउन्सिलरको टोलीले पीडितको घरमा जाँदा खुलेको थियो। बाल कल्याण समिति, पथनमथिट्टाका अध्यक्ष एन राजीवले भने, ‘यो कार्यक्रमले धेरै परिवारको विवरण संकलन गरेर उनीहरूको समस्या समाधान गर्न परामर्श दिन्छ।’
पीडित र उनकी आमा सीडब्ल्यूसी अध्यक्षको कार्यालयमा गएपछि पीडितले सबै कुरा बताइन्। राजीवले भने, ‘पीडितले हाम्रो मनोचिकित्सकसँग कुरा गरिन्, त्यसबेला उनकी आमा बाहिर पर्खिरहेकी थिइन्। आमालाई उनको श्रीमान्को फोन ल्याउन भनियो, जसबाट अपराधीहरूको नाम खुल्यो।’
सामान्यतया सीडब्ल्यूसीले यो मामिला प्रहरी चौकीमा रिपोर्ट गर्ने अपेक्षा गरिन्छ, तर राजीवले भने, ‘हामीले यो घटना विशेष भएको ठहर्यायौं र प्रहरी उपरीक्षकलाई जानकारी गरायौं, जसले तुरुन्तै कारबाही अघि बढाए।’
यसैबीच, राष्ट्रिय महिला आयोगले राज्य सरकारसँग तीन दिनभित्र प्रतिवेदन बुझाउन भनेको छ। पीडित र उनकी आमालाई सुरक्षित घरमा राखिएको छ।