काठमाडौं, सहकारी संस्थाको बचत रकमको दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री रास्वपाका सभापति रवि लामिछानेलाई बयानको लागि बोलाएको छ।

समितिका सभापति सूर्य थापाका अनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको छ। बैठक बिहान ११ बजेका लागि तय गरिएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजे उपस्थित हुन समय दिएको छ। लामिछानेलाई गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँगै बयानका लागि बोलाइएको छ।
समितिले गत आइतबार रास्वपाका सहमहामन्त्री विपिन आचार्यलाई बयानको लागि बोलाएको थियो। विपिन आचार्यले कम्पनीको प्रबन्ध निर्देशक रवि लामिछानेलाई चिनी रहेको र उनले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएका भन्ने कुरा बताएका थिए।
रवि लामिछानेमाथि पोखराको सूर्य दर्शन सहकारी, सहारा चितवन सहकारी, र बुटवलको सुप्रिम सहकारीबाट ठूलो मात्रामा रकम गोप्य रूपमा ट्रान्सफर गरेको आरोप छ। गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएका थिए।
सहकारी ठगीमा संलग्न भएको आरोपमा तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि सूर्य थापाको नेतृत्वमा यो विशेष समिति गठन गरिएको हो। समिति गठनमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनको स्थानमा सांसद दिलेन्द्र बडू सदस्य छन्। समिति गठन भएको मिति जेठ १५ गते हो र यसलाई तीन महिनाको कार्यावधि दिइएको छ।