अवामी लिगका नेताको होटलमा आगलागी २४ जनाको मृत्युअवामी लिगका नेताको होटलमा आगलागी

काठमाडौं, शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका एक जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ।

अवामी लिगका नेताको होटलमा आगलागी २४ जनाको मृत्यु

बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार, अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजनी गरेका थिए। यस आगजनीका क्रममा होटलमा रहेका अधिकांश मानिसहरू धुँवामा निसास्सिएर मरेका छन्। कम्तीमा २५ देखि ३० जनालाई उद्दार गरिएको छ।

होटलमा सोमबार अपराह्न ४ बजेदेखि आगो लागेको थियो र साँझ ८ बजेतिर नियन्त्रणमा आएको थियो। ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक रहेको बंगलादेशी अखबार प्रथोम आलोले उल्लेख गरेको छ।

जेसोर अस्पतालका डा. प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण १५० जना घाइतेको उपचार भइरहेको जानकारी दिएका छन्। आरक्षणको विरोधमा भइरहेको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार प्रधानमन्त्री शेख हसिना राजीनामा दिन बाध्य भएकी थिइन्। उनले राजीनामा दिएर सैनिक हेलिकप्टरमा भारततर्फ प्रस्थान गरिन्।

उनको राजीनामाको प्रतिक्रिया स्वरूप, अवामी लिगका नेताका घर र होटलमा भिडले आक्रमण गरेका छन्। प्रथोम आलोका अनुसार, सतखिरामा भएको आक्रमणमा १४ जनाले ज्यान गुमाएका छन्, जसमा ५ जना अवामी लिगका नेताका आफन्तहरू रहेका छन्।

अवामी लिगका नेता जाकिर हुसेनको कल्याणपुरस्थित घरमा पनि आक्रमण भएको छ, जहाँ गोली चलाइएको खबर छ। भिडले सतखिरा सदर प्रहरी चौकी, ट्राफिक प्रहरी चौकी र श्यामनगर प्रहरी चौकीमा पनि आगजनी र तोडफोड गरेका छन्। स्थानीय प्रहरी कार्यालयमा प्रहरी अधिकारीहरूको अभावले क्षतिको यकिन विवरण बाहिर आएको छैन।

बंगलादेशका प्रहरी प्रमुखले मंगलबार प्रहरी कानुनको पालक मात्र भएको भन्दै समस्या नेतृत्वमा भएकाले प्रहरीमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। बंगलादेश प्रहरीका डीआईजी साहेन रानाले विद्यार्थी र नागरिकहरूको हत्यामा संलग्नमाथि छानबिन गरिने जानकारी दिँदै, संगठनप्रति आक्रमण नगर्न अनुरोध गरेका छन्।

यसैबीच, बंगलादेशी सेनाको उच्च तहमा पनि जिम्मेवारीको हेरफेर गरिएको समाचार डेली स्टारले प्रकाशित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *