धनुषा, जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन्।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक सदस्यलाई रोजगार दिने निर्णय गरेपनि त्यसको कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरुले आन्दोलित भएका हुन्।
प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरुको सहभागिता रहेको थियो। उनीहरुले प्रदेश सरकारले आफ्नो माग पूरा नगरेसम्म घर नफर्किने चेतावनी दिएका छन्।
शहीद परिवारका सदस्यहरुले आरोप लगाएका छन् कि अधिकांशलाई नियुक्ति पत्र दिइएपनि अहिलेसम्म जागिर पाउन सकेका छैनन्। मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायले जनमत नेतृत्वको सरकार गठन पछि उनीहरुलाई सेवा सुविधाबाट वञ्चित गरिएको आरोप पनि लगाए। उनले मुख्यमन्त्री समक्ष पटकपटक ध्यानाकर्षण गराउन खोजेपनि कुनै सुनुवाई नभएको बताउनुभयो।
