काठमाण्डाै, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १९२ रनको चुनौती विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो। विराटनगरका लागि लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै ७१ रनको योगदान दिए। त्यस्तै, बसिर अहमदले ४० रन बनाए भने मार्टिन गप्टिलले २८ रन जोड्दै जितको आधार तयार गरे। अन्त्यमा क्रिस सोलले मात्र ४ बलमा नटआउट १४ रन बनाएर टोलीलाई जित दिलाए।
लुम्बिनीका बलर दुर्गेश गुप्ताले ३ विकेट लिएर प्रभावशाली प्रदर्शन गरे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनायो। लुम्बिनीका कप्तान रोहित पौडेलले ४६ रन बनाए भने टस मूर्सले ३० रनको योगदान दिए। लुम्बिनीले अतिरिक्त २९ रन पनि पायो। विराटनगरका बलर सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले समान १/१ विकेट लिए।
यो खेलमा लुम्बिनीका ४ खेलाडी रनआउट हुनु निर्णायक सावित भयो।
प्रतियोगितामा विराटनगरको यो पहिलो जित हो। यसअघि टोली लगातार दुई खेलमा पराजित भएको थियो। लुम्बिनीका लागि यो पहिलो खेल भए पनि टोली जित हासिल गर्न असफल रह्यो।