काठमाडौँ, उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी भएको ड्रोन आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन्। इजरायलको रक्षा बल (आईडीएफ) ले यो जानकारी दिएको हो। आक्रमण हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको बिन्यामिना सहर नजिकै भएको थियो, जहाँ गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई निशाना बनाइएको थियो।

आईडीएफका अनुसार, यो आक्रमणमा सात सैनिक गम्भीर घाइते भएका छन्। हमलाको जिम्मेवारी सशस्त्र समूह हिजबुल्लाहले लिएको छ। उनीहरूले यो हमला दक्षिणी लेबनान र बेरुतमा इजरायलका आक्रमणको जवाफमा गरेको दाबी गरेका छन्।
समूहको मिडिया कार्यालयले ‘ड्रोनको झुन्ड’ प्रयोग गरी उत्तरी इजरायलमा स्थित शिविरलाई निशाना बनाइएको बताएको छ। इजरायली एम्बुलेन्स सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, आक्रमणमा ६१ जना घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर छ। ३७ जनालाई एम्बुलेन्स वा हेलिकप्टरमार्फत आठ क्षेत्रीय अस्पतालमा लगिएको छ।
