काठमाडौं, संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरूसहित हर्षोल्लासका साथ मनाइँदैछ। संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा हुने मुख्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहनेछन्। सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। साँझमा राष्ट्रपति भवनमा स्वागत समारोहको आयोजना हुनेछ।

विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले पनि संविधान दिवस मनाउने कार्यक्रम गरेका छन्। संविधान दिवस नेपालको संविधान जारी भएको ९ वर्ष पूरा भएको दिन हो, जसले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, र धर्मनिरपेक्षताको सिद्धान्तलाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने अठोट व्यक्त गरेको छ।
संविधान दिवसका अवसरमा राष्ट्रका शीर्ष नेताहरूले शुभकामना सन्देश दिँदै उल्लासमय वातावरणमा दिवस मनाउन आग्रह गरेका छन्। सरकारको आह्वानमा आज देशभर दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन भनिएको छ।
