Untitled design 13

काठमाडौँ — नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरे पनि नेपालको संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन हुनुपर्ने बताएको छ।

Untitled design 13

शनिबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले अब संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताए। उनले बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी पनि दिए।

लेखकले भने, “अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० अनुसार भएकोले संवैधानिक रुपमा उपधारा २ अनुसारको सरकार गठन गर्न कुनै बाधा नहुनेछ। राजनीतिक रूपमा कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाईभन्दा बढी मत जुटेको छ।”

बैठकले संविधानको अभ्यासका क्रममा देखापरेका सबल र कमजोर पक्षको समीक्षा गर्दै संविधानलाई संशोधन, परिमार्जन गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्ने निर्णय गरेको उनले बताए।

pres note

नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्ने बैठकको निर्णय रहेको छ।

लेखकले भने, “नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने सहमति भएको छ। आजको संसदीय दलको बैठकले उक्त सहमतिलाई समर्थन र स्वागत गरेको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *