काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, सोमबार देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, मधेस, र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।