काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास अवस्थित छ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमका साथै देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली देखिएको छ भने बाँकी स्थानहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति, कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि छ।
कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना भएकाले ती क्षेत्रमा हुने संभावित बाढी, पहिरो, र भूक्षयका जोखिमहरूबाट बच्नको लागि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।