काठमाडौँ, आईसीसी क्रिकेट विश्वकप लिग-२ मा क्यानडाले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा क्यानडाले ओमानलाई ५९ रनले पराजित गर्यो।

२७७ रनको लक्ष्य पछ्याएको ओमान टोली ४६ ओभरमा अलआउट हुँदै २१७ रन मात्र बनाउन सक्यो। ओमानका लागि फयाज बटले सर्वाधिक ४४ रन बनाए, जबकि मेहरान खान र आयान खानले क्रमशः ४४ र ३० रन जोडे। जिसन मक्सुदाले २७ रन तथा शोहेब खानले २४ रन बनाए। शकिल अहमद २१ रनमा नटआउट रहे।
क्यानडाका लागि डिलन हेलिगराले ४ विकेट लिए। कालिम सानाले २ विकेट हात पारे भने हर्स थाकर, अखिल कुमार, अंश पटेल र साद बिन जाफरले १-१ विकेट लिए।
यसअघि, हर्स थाकरको ९३ रनको उत्कृष्ट प्रदर्शनको मद्दतले क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७६ रन बनायो। कप्तान निकोलस किर्तनले ५० बलमा ५७ रन बनाएका थिए। परगत सिंहले ४२ रन र डिलन हेलिगरले नटआउट ३७ रन जोडे। सादले २२ रन बनाएका थिए। ओमानका लागि सकिल अहमद, कलिमुल्लाह र फयाज बटले २-२ विकेट लिए भने जिसन मक्सुदाले १ विकेट लिएका थिए।
क्यानडाले आफ्नो पहिलो खेलमा नेपाललाई १०३ रनले हराएको थियो। अब, भोलि यी दुई टोली फेरि आमनेसामने हुनेछन्।