काठमाडौं, शेयर बजारमा पछिल्ला १५ दिनमा गुमेको रौनक फिर्ता आएको छ। सत्ता समीकरणको परिवर्तनसँगै शेयर बजारको अंक समीकरण पनि बदलिएको छ। बजारले बुलिस यात्रा समातिसकेको छ र लगानीकर्ताको आत्मविश्वास उच्च रहेको छ।

सोमबार कारोबार रकमको आधारमा ३ वर्षयताकै उच्च स्तरमा पुगेको थियो। २०७८ भदौ ३ गते २० अर्ब ४० करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार १९ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो। सोमबारको नेप्से २६६१.०९ अंक थियो।
मंगलबार १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको र शेयर बजार २६९६.६५ अंकमा बन्द भएको थियो। यो अंक सोमबारको तुलनामा केही बढी हो। यसअघि २०७८ माघ ९ गते इन्डेक्स २७२०.४३ विन्दुमा बन्द भएको थियो।
बजारमा बढ्दै जाँदा नयाँ लगानीकर्ताहरूको प्रवेश पनि बढेको छ। लामो समय बजार नबढ्दा सबै शेयर बेची शुन्य ‘पोर्टफोलियो’ बनाएका लगानीकर्ताहरू पुनः बजारमा प्रवेश गरेको देखिन्छ।
पहिला लगानीकर्ताहरू ‘ननफन्डामेन्टल’ कम्पनीहरूमा आकर्षित हुन्थे, तर हालका लगानीकर्ताले वित्तीय अवस्था सबल भएका र आधारभूत रूपमा बलिया रहेका लार्ज क्याप कम्पनीतिर आकर्षित भएका छन्।
शेयर बजारका प्राविधिक विश्लेषक सन्तोष लिङदेनका अनुसार बजारले २२०० र २३०० अंक पार गरिसकेको छ, र अहिलेको अवस्था ‘बुल’ रनको संकेत हो। लिङदेन भन्छन्, “भोल्युम बढिरहेको छ। बजारबाट बाहिर भएका लगानीकर्ताहरूको पनि इन्ट्री देखिन्छ।”
२२०० र २३०० को पल्स ब्रेकअप गरेर २६०० र २७०० अंकको महत्वपूर्ण एरियामा बजार घुमिरहेको छ। विश्लेषक सुवासचन्द्र ढुंगाना अनुसार, “बिक्रेताहरूको आगमनले बजारमा करेक्सन हुनसक्छ, तर २७०० माथि गएर स्थिर हुन सक्ने सम्भावना छ।”
लगानीकर्ताले १६ दिनमा ७ खर्ब २५ अर्ब १२ करोड रुपैयाँ कमाएका छन्। असार ३१ गते अर्थमन्त्री विष्णु पौडेलको कार्यभार सम्हालेपछि बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ थियो, र अहिले ४२ खर्ब ७८ अर्ब ७९ करोड पुगेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गभर्नर महाप्रसाद अधिकारीले लचक नीति लिँदा पनि बजार उचालिएको छ। बैंकोंले शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा खारेज गरिएको छ, जसले संस्थागत लगानीकर्ताहरूलाई राम्रो सुविधा प्रदान गरेको छ।