काठमाडौं, पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) द्वारा आयोजित चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप आजदेखि पाकिस्तानमा शुरु हुँदैछ। यो प्रतियोगिता नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म लाहोर र मुल्तानमा आयोजना हुनेछ।

यस विश्वकपमा आयोजक पाकिस्तानसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाउनेछन्। भारतको ब्लाइन्ड क्रिकेट टोलीले प्रतियोगितामा भाग लिन नसक्ने भएको छ, किनकि भारतीय सरकारले पाकिस्तान जानका लागि स्वीकृति नदिएको हो। यसबाट भारतका विरोधी टोलीहरूले लिग चरणका ६ खेलमा वाक ओभर पाउनेछन्।
सहभागी ६ टोलीबीच राउण्ड रोविन पद्धतिमा खेल हुनेछन्। लिग चरणका शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो सेमिफाइनल लिगको पहिलो र चौथो स्थानमा रहने टोली बीच हुनेछ भने दोस्रो सेमिफाइनल दोस्रो र तेस्रो स्थानका टोली बीच हुनेछ। फाइनल खेल डिसेम्बर ३ मा मुल्तान क्रिकेट स्टेडियममा हुनेछ।
नेपालले आफ्नो पहिलो खेल आज श्रीलंकासँग खेल्नेछ, जुन लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ। आजै पाकिस्तान र दक्षिण अफ्रिका बीच उद्घाटन खेल हुनेछ। भारतको बंगलादेशसँग खेल पनि निर्धारित थियो, तर भारतको अनुपस्थिति पछि बंगलादेशले वाक्स ओभर पाएको छ।
नेपालको खेल तालिका अनुसार, नेपालले आगामी नोभेम्बर २४ मा बंगलादेश, २५ मा अफगानिस्तान, २६ मा दक्षिण अफ्रिका र २७ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भारत बीच नोभेम्बर २९ मा खेल हुने तालिका थियो, तर भारतको अनुपस्थितिका कारण नेपालले वाक ओभर पाएको छ।
नेपाली टोलीले प्रतियोगिताका लागि राम्रो तयारी गरेको र उत्कृष्ट प्रदर्शनको आशा गरेको मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले बताएका छन्।
नेपाली टोली लाहोर पुग्दा उद्घाटन समारोहमा सहभागी हुन सकेन। नेपालले भारतको सडकमार्गबाट पाकिस्तान जाने तयारी गरेको थियो, तर ट्रेनले ढिलाइ गर्दा नेपाली टोली उद्घाटन कार्यक्रममा भाग लिन सकेन। नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठका अनुसार, ट्रेनले बीच बाटोमा छोडेर बसमा जानुपरेको कारण नेपाल समयमै लाहोर पुग्न सकेन।
नेपालको टोली कप्तान रमेश बहादुर बानियाँको नेतृत्वमा प्रतियोगितामा सहभागी छ, जसमा सुनिल सुवेदी क्षेत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी लगायतका खेलाडीहरू छन्।