तेह्रथुम, कोशी प्रदेशको नामाकरणविरुद्ध आन्दोलनरत पहिचानवादी पक्षले तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध कालो झण्डा सहित प्रदर्शन गरेका छन्।

बुधबार बिहान तेह्रथुमको म्याङ्लुङस्थित जिरीखिम्ती बजारमा पहिचान पक्षधर लाजेहाङ फोर्सका सदस्यहरूले कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएका हुन्।
फोर्सका तेह्रथुम जिल्ला संयोजक धनेन्द्र सुब्बाले पहिचान पक्षबाट प्रदेशको नाम राख्न अग्रणी भूमिका खेलेका मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउन सफल भएको बताए।
पहिचानवादीहरूले मुख्यमन्त्री कार्कीलाई कोशी नाम राखेर पहिचान नामेट गरेको आरोप लगाएका छन्। मुख्यमन्त्री कार्की प्रदेशको पहिलोपटक मुख्यमन्त्री बनेको बेला प्रदेशसभाबाट कोशी प्रदेश नामाकरण भएको थियो।
त्यसयता प्रदेश नामाकरणविरुद्ध पहिचानवादीहरू निरन्तर आन्दोलनमा छन्। आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ)को मृत्यु भएको छ। यसबीच तत्कालीन मुख्यमन्त्री केदार कार्की रहँदा पहिचानवादी पक्षसँग वार्तासमेत भएको थियो।