भक्तपुर, मध्यपुर थिमीमा शुक्रबार राति भैरव नाच प्रदर्शन गरिएको छ। यो नाच भैरव जात्राका दिन टोलबासीलाई भोज खुवाइ देखाउने परम्परा रहेको छ।
शुक्रबार राति सुरु भएको यो नाच मंगलबार रातभर प्रदर्शन गरियो। लायकूदेखि बालकुमारी मन्दिरसम्मको क्षेत्र यस नाच हेर्न आउने स्थानीयहरूको भीडले भरिएको थियो।
नाच चपाचोबाट निकालेर बालकुमारी मन्दिरको परिक्रमा गराइ सोही स्थानमा प्रदर्शन गरिन्छ। यो भैरव नाच शनिबार बिहानमात्रै सम्पन्न भएको थियो।
मल्लकालीन वंशावलीमा उल्लेख गरिएको ‘मदये काम गा गू’ अर्थात नभई नहुने भनिएको यो नाचमा दुई भैरव, दुई देवी (दागी), र एक ज्यापू गरी पाँच व्यक्तिले देवताको मुकुण्डो धारण गरी नाच प्रदर्शन गरिन्छ।
यो तान्त्रिक विधिबाट गरिने नाचमा भैरव, कुमारी, र ज्यापू गोको मुकुण्डो लगाउने व्यक्तिहरूमा देवीदेवता प्रवेश गर्छन् भन्ने विश्वास रहेको छ। यस नाचले भूत-प्रेत र अनिष्ट हटाउने जनविश्वास पनि रहेको छ। थिमीमा परापूर्वकालमा भूत-प्रेतले दुःख दिएपछि यो भैरव नाच सुरु गरिएको किंवदन्ती छ।