काठमाडौं, बसिर अहमदको उत्कृष्ट अर्धशतकले विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनायो।
बसिरले एनपीएलमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै अविजित ६८ रन बनाए। ४४ बलमा उनले ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै, राजेश पुलामी मगरले पनि अविजित ३३ रन जोडे भने मार्टिन गप्टिलले ४५ रन बनाए।
खेलको सुरुवात कमजोर भए पनि अन्तिम चार ओभरमा आक्रामक ब्याटिङ गर्दै विराटनगरले ६९ रन जोड्यो। कुनै समय १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३-४ को अवस्थामा पुगेको थियो। त्यसपछि बसिर र गप्टिलले पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गरे।
ओपनर लोकेश बम र वान डाउनमा आएका दीपक बोहरा पहिलो ओभरमै आउट भए। स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट हुँदा विराटनगरको इनिङ्स कमजोर देखिएको थियो। तर, बसिर र गप्टिलले संयमित ब्याटिङ गर्दै टिमलाई सम्हाले।
बसिरले राजेश पुलामीसँग छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को महत्वपूर्ण साझेदारी गर्दै टिमलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए।
चितवनको बलिङमा रिजन ढकालले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। सोहेल तनविर, बासिल हमिद, र कप्तान कुशल मल्लले समान १-१ विकेट हात पारे। युएईका बासिल हमिदले डेब्यु खेलमा ४ ओभरमा केवल १५ रन मात्र खर्चे।