काठमाडौँ, कोलकाताको आरजी कार मेडिकल कलेजमा एक डाक्टरको बलात्कारपछि भएको हत्याविरुद्ध चलिरहेको विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव राखेका छन्।

आन्दोलनरत जुनियर चिकित्सकहरूको ३२ सदस्यीय प्रतिनिधिमण्डलले सरकारको निमन्त्रणामा सचिवालयमा भेट गर्न पुगेका थिए। उनीहरूले बैठकको प्रत्यक्ष प्रसारणको माग गरेका थिए, तर मुख्यमन्त्री बनर्जी त्यसको लागि तयार नभएपछि आन्दोलनकारीहरू फर्किएका थिए।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले प्रत्यक्ष प्रसारण गर्न नसकिने सरकारी भनाइ थियो। यस घटनाबारे प्रतिक्रिया जनाउँदै, ममता बनर्जीले पत्रकारहरूसँग आफ्नो र सरकारको अपमान भएको गुनासो गरिन्। उनले जनताले मुद्दाको साँचो स्वरूप नदेखेको उल्लेख गर्दै गलत जानकारी फैलाइएको बताइन्।
भाजपाकेन्द्रित सम्बोधन गर्दै, बनर्जीले भनिन्, “म राजीनामा दिन तयार छु। उनीहरू न्याय होइन कुर्सी चाहन्छन्। मलाई आशा छ कि मानिसहरूले यो बुझ्नेछन्।”
मुख्यमन्त्रीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै पीडितलाई न्याय दिन आफू तयार रहेको बताइन्। उनले आन्दोलनका कारण २७ जनाको मृत्यु र सात लाख व्यक्तिको उपचारबाट बञ्चित भएको दाबी गरिन्।
विपरीत, जुनियर डाक्टरहरूले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्रीले उनीहरूलाई गलत बुझेको आरोप लगाए। उनीहरूले भने, “हामी कुरा गर्न मात्रै आएका थियौं तर मुख्यमन्त्रीबाट निराश भएका छौँ। अझै पनि आशा छोडेका छैनौँ, वार्ताका लागि तयार छौँ।”