काभ्रेपलाञ्चोक – भारी वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएअनुसार, सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको छ।

पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो। गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन्।
साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ।