काठमाडौं, प्यूठानको सरुमारानी गाउँपालिका–२ दर्भानमा एक डस्टबिनमा फेला परेको नवजात शिशुको शवबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।

दिउँसो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान थालिएको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता तथा प्रहरी निरीक्षक केशव केसीका अनुसार साँझदेखि अनुसन्धानलाई तीव्रता दिइएको छ।
‘घटनाबारे गम्भीर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेका छौं।’
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, गए राति जन्मिएको शिशुलाई फोहोर फाल्ने डस्टबिनमा फालेको हुनसक्छ। शव डस्टबिनमा घोप्टो अवस्थामा फेला परेको थियो।