काठमाडौँ, भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव प्रहरीले अस्पताल पठाएको छ। त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गराइने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठका अनुसार, ना.६ ख २१७३ नम्बरको ट्रकले बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। यस दुर्घटनामा स्कुटरमा सवार २६ वर्षीया सुष्मा नेपालीको मृत्यु भएको छ। उनी दोलखाको मेलुङ गाउँपालिका–६ की निवासी हुन्।
मृतक महिलाको शव ट्रकको चक्काले किचिएको अवस्थामा प्रहरीले निकालेको छ। पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाइएको छ। ट्रक चालक फरार रहेको र उसको खोजी भइरहेको एसएसपी मैनालीले बताए। घटनास्थलमा लगभग २ हजार प्रदर्शनकारीहरू प्रदर्शन गर्दैछन्, र स्थिति नियन्त्रणमा लिन काठमाडौँबाट १९५ जना थप प्रहरी परिचालन गरिएको छ।