काठमाडौँ, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेको फरक प्रस्तावलाई प्रदेशस्तरमा छलफलका लागि पठाउने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले शर्माको प्रस्तावलाई पार्टी निर्णयसँगै प्रदेशस्तरमा छलफल गर्न सहमति जनाएको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन २५ गते पार्टीको नयाँ कार्यभार र वर्तमान परिस्थिति सम्बन्धी मौखिक प्रस्ताव पेश गरेका थिए। यसमा असन्तुष्टि जनाउँदै शर्माले १४ पृष्ठ लामो पुरक प्रस्ताव प्रस्तुत गरेका थिए। यस विषयमा छलफल गर्न प्रचण्डले स्थायी समिति बैठकअघि पदाधिकारी बैठक बोलाएका थिए, जसमा दिनभर छलफल भएको थियो।
बैठकमा उपमहासचिव शर्माले आफ्नो फरक प्रस्तावलाई तल्लो तहसम्म छलफलका लागि लैजानुपर्ने अडान राखेपछि प्रदेशस्तरीय छलफलमा लैजाने सहमति भएको छ। प्रचण्डले बैठकमा आन्तरिक छलफल बाहिरिएकोमा असन्तुष्टि जनाएका थिए। फरक प्रस्तावलाई पार्टीका सदस्य र पदाधिकारीहरूको राय, सल्लाह र सुझावका आधारमा छलफल गर्न प्रदेशस्तरमा परामर्श गरिने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
असोजको पहिलो साता पूर्ण केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको छ, जसमा प्रदेशस्तरबाट आएका सुझाव र परामर्शलाई समेटेर दस्तावेज तयार गरिनेछ। नेताहरूले प्रचण्ड र शर्माबीचको मतभेद समाधान भएसँगै पार्टी निर्माण र संगठन सुदृढीकरणमा एकताबद्ध भएर जानेमा विश्वास व्यक्त गरेका छन्।