काठमाडौं, नेपालले साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत समूहको दोस्रो र अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

समूह एमा दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्, तर आजको खेलले समूह ए को विजेता तय गर्नेछ। नेपालले पहिलो खेलमा श्रीलंकालाई १-० ले हराएको थियो भने बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेको छ। श्रीलंकाले समूह चरणबाट बाहिरिसकेको छ।
बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ। नेपाललाई समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ।
नेपालको सेमिफाइनलमा भारतसँगको सम्भावित भिडन्त टार्नका लागि समूह ए को विजेता बन्ने लक्ष्यमा छ। समूह बीमा भारत र माल्दिभ्सबीचको अन्तिम खेलपछि सेमिफाइनल समीकरण तय हुनेछ।
च्याम्पियनसिप ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।