काठमाडौं, चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक पूर्व उच्च पदाधिकारीलाई घुस लिएको आरोपमा ११ वर्षको जेल सजाय सुनाएको छ।

चिनियाँ फुटबल संघ (सीएफए) का पूर्व उपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित अदालतले दोषी ठहर गरेको हो। उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने फैसला पनि सुनाइएको छ, साथै भ्रष्टाचारबाट आर्जन गरिएको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने भएको छ।
लीलाई सन् २००४ देखि २०२१ सम्म १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरिएको थियो। उनले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए। यसअघि, उनी सांघाईको खेलकुद प्रशासनको प्रमुख थिए।
राष्ट्रपति सी चिनफिङको शासनकालमा चीनले खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै आएको छ। सीले चीनले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका छन् र खेलकुदमा हुने अनियमितताको अन्त्य गर्न चाहन्छन्।
तर, यो लक्ष्य भ्रष्टाचारका काण्डहरू र निराशाजनक नतिजाहरूका कारण अझ टाढा देखिन्छ। गत मार्चमा, सीएफएका पूर्व प्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको कसुरमा आजीवन कारावासको सजाय सुनाइएको थियो।
सोही महिना, चीनको राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घुस लिएको र म्याच फिक्सिङमा मद्दत गरेको कुरा स्वीकार गरेका थिए।
गत मे महिनामा, चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्व निर्देशक गौ झोङवेनविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिएको थियो। यसरी हेर्दा, हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारी अनुसन्धानको दायरामा आएका छन्। रासस/एएफपी