काठमाडौँ, आज (आइतबार) घरेलु टोली नेपाल भुटानसँग सेमिफाइनल खेल्न लागि तयार छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुने यस खेलमा नेपाल अपराजित रहन चाहन्छ र फाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छ।

समूह एकको विजेता नेपाल भुटानलाई हराएर फाइनलमा स्थान बनाउन चाहन्छ, तर भुटान सजिलो प्रतिद्वन्द्वी छैन। भुटानी युवा टोली हाल नियमित प्रशिक्षणमा रहेको छ र निकै लयमा छ। पछिल्लो पटक सन् २०१९ मा नेपाल भुटानसँग ३–० गोलअन्तरले हराएको थियो र सन् २०१७ मा पनि नेपाली युवा टोलीले भुटानसँग पराजय भोगेको थियो।
यसपटक नेपाल भुटानको चुनौती पार्दै उपाधिको नजिक पुग्ने योजनामा छ। भुटानी टोली पनि नेपाललाई घरेलु मैदानमै स्तब्ध पार्दै फाइनलको तयारीमा छ। भुटानले उमेर समूहमा फुटबलमा लगानी बढाइरहेको छ र यस च्याम्पियनसिपमा पनि उनकाे प्रर्दशन प्रशंसायोग्य छ।
नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। भुटान भने समूह चरणको पहिलो खेलमा भारतसँग २–१ ले पराजित भएको थियो, तर दोस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलअन्तरले हराएर सेमिफाइनलमा पुगेको हो। भुटान भारत र माल्दिभ्सविरुद्ध दुवै खेलमा १० खेलाडीमा सीमित रहेको थियो।