काठमाडौँ, सरकारद्वारा संक्रणकालीन न्यायसम्बन्धी विधेयक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा पेस भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ आज राष्ट्रिय सभामा पेस गरिएको हो।

आइतबारको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका थिए। मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा राखेका थिए।
यसअघि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा आएको उक्त विधेयकमा केही सांसदहरूले आफ्नो धारणा राखेपछि कानुनमन्त्री चौरसियाले जवाफ दिएका थिए। जवाफपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले पेस हुने प्रस्तावलाई निर्णयका लागि राखेका थिए, र सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए।
बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले संक्रणकालीन न्यायसम्बन्धी आयोग गठन सर्वसम्मत र पारदर्शी हुने दाबी गरेका छन्। उनले विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने आशा व्यक्त गरे।
अब राष्ट्रिय सभामा विधेयकमा संशोधन खुल्ला गरिएको छ। अध्यक्ष दाहालले सांसदहरूले संशोधन दर्ता गराउन सक्ने जानकारी गराएका छन्। यो विधेयक अब भदौ ६ गतेको राष्ट्रिय सभा बैठकमा पेस हुनेछ, जहाँ संशोधन दर्ता भएमा छलफल गरिनेछ।
दलीय सहमतिका आधारमा राष्ट्रिय सभा पेस भएकाले प्रमुख दलहरूबाट संशोधन दर्ता हुने सम्भावना कम छ, तर स्वतन्त्र सांसदहरूले संशोधन दर्ता गराउन सक्नेछन्। संशोधनपछि यसलाई निर्णयका लागि पेस गरिने छ। राष्ट्रिय सभाबाट पास भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो विधेयक कानुनको रूपमा लागू हुनेछ।