कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका लागि १०० दिने काउन्टडाउन सुरु 1

सुर्खेत, कर्णाली प्रदेशमा आगामी मंसिरको पहिलो साता हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन सुरु भएको छ।

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका लागि १०० दिने काउन्टडाउन सुरु 1

स्थानीय आयोजक कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले शनिबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममार्फत काउन्टडाउन सुरु गरेको हो। प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म हुने तय भएको छ।

शनिबार निर्माणाधीन कर्णाली प्रदेश रंगशालामा आयोजित विशेष कार्यक्रममा मुख्य उद्घाटनस्थलको तयारीको साथसाथै दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पनि राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्ताव गरिएको छ।

प्रस्तावित लोगोमा सातवटा रंगमा सातवटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालका राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, र बगिरहेको कर्णाली नदीलाई समेटिएको छ। उक्त लोगोको रचना विकास तमखुले गरेका छन्।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ। रेडपाण्डालाई मस्कटको रुपमा राख्न सरोकारवालाहरूको सुझावअनुसार प्रस्ताव गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमै सम्पन्न गर्ने तयारीमा रहेको बताएका छन्।

कार्यक्रममा, मन्त्री भण्डारीले कर्णाली खेल गीत पनि सार्वजनिक गरेका छन्, जसका शब्द रचनाकार रामकुमार शाही ‘क्षितिज समर्पण’ हुन् भने संगीत सन्तोष श्रेष्ठले गरेका छन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिताको १०० दिने काउन्टडाउन सुरु गर्दै पाँच मुख्य काममा ध्यान दिएर अगाडि बढेको छ। परिषद्का सदस्य-सचिव विश्वामित्र संज्यालका अनुसार प्राथमिकतामा पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य, र सुरक्षा रहेका छन्।

सदस्य-सचिव संज्यालले प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भएको र बाँकी कार्य असोजसम्म सम्पन्न गर्ने योजना रहेको बताए। हुम्लामा हक्की खेल मैदान, रारामा कबड्डी खेल मैदान, र जुम्ला, कालीकोट, दैलेख र रुकुम पश्चिममा इनडोर कवर्डहल तयार भएको छ। जाजरकोटमा भने टेबल टेनिसको लागि खेल पूर्वाधार तयार रहे पनि केही मर्मत सुधार आवश्यक रहेको बताए।

कर्णाली प्रदेशमा २४ खेलहरू मात्र सम्भव रहेको र सोहीअनुसार खेल तालिका बनाइएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेलहरू समावेश भए तापनि, दसौं प्रतियोगितामा २४ खेलहरू मात्र समावेश गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *