काठमाडौँ, आज नागपञ्चमीको अवसरमा काठमाडौँको नागपोखरी, खोटाङ्गको हलेसी, र काठमाडौँको बुदनिल्कण्ठमा पूजा गर्नेहरूको ठूलो भीड लागेको छ। नागपञ्चमी पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ।

यस दिन नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रूपमा चढाइन्छ र खाने गरिन्छ। नागको पूजा गर्दा र घरको मूल ढोकामा नागको चित्र टाँस्दा वर्षभर घरमा नाग, सर्प, र बिच्छीले दुःख नपरोस् भन्ने विश्वास गरिएको छ। यसरी पूजा गर्दा अग्नि, मेघ, र चट्याङको भयबाट पनि सुरक्षा मिल्ने विश्वास गरिएको छ।
नागका बाह्र नाम भए तापनि, आठ कूलका आठवटा नागको पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखि रहेको छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।