Concerned about oppression of Bangladeshi Hindus in NepalConcerned about oppression of Bangladeshi Hindus in Nepal

काठमाडौँ, बंगलादेशमा हिन्दू समुदायमाथि भइरहेको दुर्व्यवहारप्रति नेपालका हिन्दुवादी संघसंस्था र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बंगलादेशमा अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीमाथि भएको दमनलाई मानवताविरोधी कार्य बताउँदै यस्तो घटनाको तुरुन्त रोकथाम गर्न आह्वान गरेका छन्।

Repression of Bangladeshi Hindus 1

सांसद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिमा बंगलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीमाथि भइरहेको हत्या, आक्रमण, आगजनी र त्रासदीलाई मानवता विरोधी ठहराउँदै त्यस्ता घटनाको रोकथाम गर्न आग्रह गरेका छन्। उनले बंगलादेश सरकारलाई धर्म र जातीय पहिचानको आधारमा भएका आक्रमण रोक्न कूटनीतिक पहल गर्न पनि भनेका छन्।

बिहीबार राष्ट्रिय एकता अभियानले बंगलादेशमा भइरहेको स्थिति बारे विभिन्न हिन्दुवादी संघसंस्थासँग छलफल गरेको छ। छलफलमा प्रतिनिधि सभा सदस्य किरण साह, परराष्ट्र विज्ञ अरुण सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दु महासंघका अर्जुन बास्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणामी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, र विश्व हिन्दु महासंघ राष्ट्रिय समितिका महासचिव रामचन्द्र तिवारी लगायतका व्यक्तिहरूको सहभागिता थियो।

बैठकले बंगलादेशी हिन्दू र बौद्ध धर्मावलम्बीलाई नेपालमा शरण दिने आग्रह गर्न र परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशलाई हिन्दू र बौद्ध धर्मावलम्बीमाथि दमन रोक्न कूटनीतिक नोट पठाउन आग्रह गर्ने निर्णय गरेको छ। साथै, नेपालस्थित बंगलादेशको राजदूतावासलाई पनि यस सम्बन्धमा दबाब दिने निर्णय गरिएको छ।

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले पनि बंगलादेशमा हिन्दूमाथि भइरहेको दमनको बारेमा सरोकारवालासँग छलफल गर्दै निष्कर्ष निकाल्ने प्रक्रिया अघि बढाएको छ।

बंगलादेशमा हाल १६ करोड ५१ लाख जनसंख्या छ, जसमा ७.९५ प्रतिशत अर्थात् १ करोड ३१ लाख मात्र हिन्दू छन्। १९४७ मा बंगलादेश अस्तित्वमा आउँदा त्यहाँ १८ प्रतिशत हिन्दू थिए, तर हालका रिपोर्ट अनुसार त्यहाँ रहेका हिन्दूहरू अझै पनि ठूलो संकटको सामना गरिरहेका छन्। मन्दिर तोडफोड, घरमा आगजनी र लुटपाटका दृश्यले हिन्दू समुदायलाई त्रसित बनाएको छ।

हिन्दू अमेरिकन फाउण्डेशनको रिपोर्ट अनुसार, सन् १९६४ देखि २०१३ को बीचमा १.१ करोडभन्दा बढी हिन्दूले बंगलादेश छाडेका छन्, र हरेक वर्ष २.३ लाख हिन्दू देश छोड्न बाध्य भइरहेका छन्। बंगलादेशको सन् २०११ को जनगणना अनुसार, २००० देखि २०१० सम्म १० लाख हिन्दू पलायन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *