काठमाडौं, राष्ट्रिय खेलकुद परिषद्ले दशरथ रंगशालाको संरक्षण र मर्मतको जिम्मा लिएको केही समय पछि, एशियाली फुटबल महासंघ (एएफसी) ले रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति दिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुरोधमा एएफसीले दशरथ रंगशालालाई योग्य ठहर गर्दै प्रतिवेदन दिएको हो।

एएफसीले यसअघि रंगशालामा केही सुधार आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेको थियो। यो प्रतिवेदनपछि, राष्ट्रिय खेलकुद परिषद्ले गत चैत्र महिनादेखि रंगशालाको संरक्षण र मर्मत सुरु गरेको थियो।
यसै क्रममा, साउन ९ गते एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको निरीक्षण गर्दै आवश्यक मापदण्ड पूरा भएको प्रतिवेदन बुझाएका छन्। यसैका आधारमा, साउन २९ गते एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाइज युनाइटेड बीचको खेल दशरथ रंगशालामा हुने तय भएको छ।
गत चैत्रमा एएफसीले रंगशाला अयोग्य भएको प्रतिवेदन दिएपछि नेपालले विश्वकप फुटबल छनोटका खेलहरू घरेलु मैदानमा खेल्न नपाई बराईन र साउदी अरबमा खेल्नुपरेको थियो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एएफसीको पुनः मान्यतापछि नेपाली दर्शकले दशरथ रंगशालामा पुनः अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेर्न पाउने बताएका छन्। उनले रंगशालाको संरक्षणमा परिषद्ले उल्लेखनीय काम गरेको भन्दै भविष्यमा पनि खेल मैदानको मर्मत र रेखदेखमा कुनै कमी नछोड्ने प्रतिबद्धता व्यक्त गरे।